टुक्का कविता प्रथम वर्ष समिक्षा

प्रयाेगवादी दुई हरफका कविता “टुक्का कविता” काे एक वर्ष 

१. प्रारम्भ
२०७७ श्रावण २५ गते ताराप्रसाद चापागाईकाे परिकल्पनाबाट शुरु भएकाे अहिलेकाे व्यस्त जीवनशैली सुहाउँदाे दुई हरफमा नै पूर्ण हुने छाेटाे र चाेटिलाे नवकाव्यिक उपविधा टुक्का कविता विविध अध्ययन, खाेज, अनुसन्धान, परिमार्जन पश्चात विशेषता र नियमहरू तयार गरे पश्चात ओैपचारीक रूपमा २०७७ पाैष १७ गते बाट सामाजिक सन्जाल मार्फत प्रकाशन शुरुवात भएकाे थियाे । 
काव्यिक उपविधाहरूमा प्रयाेग भई रहेका लामाे कविता लेखनकाे परम्परागत शैलीलाई परिमार्जन गर्दै  लघुतम काव्यिक विधाकाे रुपमा दुई हरफमा अक्षर संख्या बराबर गरेर तुक्(अन्त्यानुप्रास) मिलाएर मनका भावहरू चाेटिलाे रुपमा प्रस्तुत गर्नु टुक्का कविताकाे मुख्य बिशेषता हाे ।

२. नामाकरण

नेपाली साहित्यका समिक्षक श्री अरुण नदी खत्रीले नव काव्यिक उपविधाकाे नाम “टुक्का” भनेर नामाकरण गर्नु भएकाे थियाे ।

३. टुक्का शब्दकाे अर्थ

बृहत् नेपाली शब्दकोशका अनुसार टुक्का शब्दकाे विविध अर्थ अन्तर्गत कुनै कविता वा गीतकाे सानाे अंश, पाउकाे अन्तिम भाग/ कविता वा गीतकाे अन्तिम शब्द वा शब्दकाे फाँकी मिलाउने काम, अन्त्यानुप्रास / अभिब्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यांश, मुहावरा भन्ने उल्लेख गरेकाे पाइन्छ।

कोशीय अर्थमा मात्र नभई यहाँ प्रयुक्त “टुक्का कविता” कुनै गीत वा कविताको अंश होइन । यो त दुई पङ्ति भएर पनि आफैँमा पूर्ण तुकबन्दीयुक्त अनुभूतिको एक झट्का दुई हरफमा पूर्ण हुने प्रयाेगवादी कविता हाे ।

४. परम्परागत विधाहरू सँगकाे सम्बन्ध

टुक्का कविता परम्परागत रुपमा चलि आएकाे नेपाली लाेकाेक्ती, सिलाेक, लाेक गीत, असारे भाका तथा कांठे भाकाहरुमा तुकान्त मिलाइएकाे बिषयलाई आधार मानिएता पनि उल्लेखित विधाहरूकाे सम्मान र संरक्षणमा कुनै असर नपर्ने र समानता नहुने गरि विभिन्न कृति, ग्रन्थहरू र इन्टरनेटकाे माध्यमबाट खाेज अनुसन्धान तथा नेपाली साहित्यमा अनवरत रुपमा खटिदै आउनु भएका अग्रज साहित्यकारहरूसँग बृहत् रुपमा छलफल गरि प्राप्त भएका राय सुझावकाे आधारमा विशेषता र नियमहरू तयार पारेर शुरु गरिएकाे प्रयाेगवादी काव्यिक उपविधा हाे ।

खाेजकाे क्रममा टुक्का वा उखान टुक्काकाे मर्मलाई असर पर्छ कि भनेर टुक्का शव्दमा केन्द्रित भएर अग्रज साहित्यकारहरूसँग भएका छलफलहरूबाट प्राप्त राय सुझाव तथा विभिन्न पुस्तकहरू, इन्टरनेट मार्फत तथा बृहद नेपाली शब्दकाेषकाे अध्ययन गर्दा टुक्का शब्दकाे अर्थ संकुचित नभएर वृहद् रहेको पाइएकाे थियाे । तत्पश्चात प्राचीनमा चलिआएको टुक्का शब्दको अर्थलाई चोट नपुग्ने गरी निश्चित नियमहरू तयार गरेर प्रयाेगवादी नवकाव्यिक उपविधा टुक्का कविता लेखन ओैपचारीक रुपमा शुरु गरिएकाे थियाे ।

५. टुक्का कविताकाे संरचनात्मक स्वरुप/ आधारभूत सिद्धान्त :

(क) टुक्का कविता नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक काव्यिक उपविधा हो ।

(ख) टुक्का कविताको संरचना
      (१) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
(२) टुक्काकाे भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्छ ।

(ग) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएकाे छ ।

(घ) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्छ ।

(ङ) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्छ।

(च) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ ।

(छ) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दाेहाेर्याउनु उचित मानिदैन।

(ज) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएकाे टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । टुक्का नेपाली माैलिक साहित्य विधा भएता पनि याे जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।

(झ) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।

(ञ) टुक्कामा आवश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।

(ट) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्छ।

६. टुक्का कवितामा विविध प्रयाेग तथा उन्नयन

टुक्कामा विविध प्रयाेगकाे हिसावले हेर्ने हाे भने सजावट गरिएका टुक्काहरू, तस्विरमा आधारित टुक्काहरू तथा विभिन्न भाषाहरूमा टुक्का लेखन विशेष आकर्षणकाे रुपमा रहेका छन् ।

बिभिन्न अभ्यास समुहहरूमा चाडपर्व विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला, “टुक्का माथी टुक्का” व्यङ्ग्यात्मक टुक्का अभ्यास श्रृङ्खला, “छन्दमा टुक्का” अभ्यास श्रृङ्खला” तथा दैनिक टुक्का अभ्यास हरू संचालन भई रहेका छन्। यस्ता कार्यक्रमहरूले सर्जकहरूलाई उर्जा थप्नुकाे साथै टुक्काकाे उन्नयनमा विशेष याेगदान पुर्याएकाे छ ।

साहित्यमा नव प्रयाेगात्मक काव्यिक उपविधाकाे रुपमा उदाएकाे छाेटाे अवधि (१ बर्ष) मा नै करिव १९ हजार साहित्यिक मनहरूमा बस्न सफल भएकाे छ । पाँच सय भन्दा बढि सर्जकहरूले टुक्कामा कलम जाेड्नु भएकाे छ। हाल  ४० टुक्का अभियन्ताहरू,  टुक्का साहित्य समाजका पदाधिकारीहरू तथा देश विदेशमा रहनु भएका टुक्काकारहरू टुक्का लेखन, प्रशिक्षण, प्रकाशन, प्रचारप्रसार तथा विविध गतिविधी मार्फत टुक्काकाे उन्नयनमा अहाेरात्र खटिएका छन् ।

त्यसैगरी साहित्य पाेष्ट, हिमालयन दृष्टि, गामबेसी, प्रभातफेरी साप्ताहिक, कल्पतरू द्वैमासिक, संसार न्यूज, इनेपलिज, तिताेपाटी, मनासलु, पूर्वेली न्यूज जस्ता पत्रिकाहरूले निरन्तर प्रकाशन गर्नुकाे साथै नव सिर्जना त्रैमासिक, गाेरखा एक्सप्रेस, दैनिक जीवन, नव संकेत, नवसञ्चार, नेपालनाम्चा लगायत विभिन्न पत्रपत्रिकाहरूले टुक्का तथा टुक्का सम्बन्धी गतिविधी बारेमा प्रकाशनमा सहयाेग गरि विशेष याेगदान पुर्याएका छन्।

७. ऐतिहासिक रेकर्डहरू
ओैपचारीक रुपमा शुरु भएकाे एक बर्षकाे अवधिमा टुक्का कविताकाे उन्नयन काे लागी उल्लेखनिय महत्वपूर्ण धेरै कार्यहरू भएका छन ती मध्ये टुक्का कविताकाे पहिलाे बर्षकाे अवधि मा सङ्कलन हुन सकेका केही ऐतिहासिक रेकर्डहरू निम्नअनुसार रहेका छन् । टुक्का कविताकाे परिकल्पना तथा लेखन प्रारम्भ ताराप्रसाद चापागाईंबाट भएकाे थियाे ।

* ओैपचारीक रुपमा २०७७ पाैष १७ गते पहिलाे टुक्का प्रकाशन भएकाे थियाे। 

राष्ट्रिय दिवस टाेपी ताज
हिमाल झैँ शाेभा देखें आज ।
✍️ ताराप्रसाद चापागाईं

  • टुक्का कविताकाे नामाकरण साहित्य समालाेचक श्री अरुण नदी खत्रीले गर्नु भएकाे थियाे ।
  • पहिलाे पटक पत्रिकामा २०७७ फागुन ५ गते बिहिबार “मनासलु डट कम” मा टुक्का प्रकाशन भएकाे थियाे।
  • पहिलाे व्यङ्ग्यात्मक टुक्का लेखन २०७७ पाैष २५ गते।
    (व्यङ्ग्यात्मक टुक्का)
    आफ्नाे ज्यान अर्पित गरि जस्ले सत्तामा पुर्यायाे
    गरिबलाई मार्ने अस्त्र भ्रष्टाचारले सुर्यायाे।
    ✍️ ताराप्रसाद चापागाई
  • छन्दमा लेखिएकाे पहिलाे टुक्का २०७७ फाल्गुन ८ गते बुधबार ।
    (भुजङ्गप्रयात छन्द)
    पिलायाै तिमीले नसामा जवानी
    दिलायाै रचेकाे अनाैठाे कहानी ।
    ✍️ ताराप्रसाद चापागाई
  • पहिलाे पटक टुक्का सम्बन्धी लेख साहित्यपाेष्ट मा २०७७ फाल्गुण २१ गते प्रकाशन भएकाे थियाे ।
  • पहिलाे पटक सामुहिक टुक्का लेखन अभ्यास २०७७ फाल्गुण २४ गते साेमबार भएकाे थियाे ।
  • पहिलाे पटक छापा पत्रिकामा २०७७ फागुन २५ गते मंगलबार “गाेरखा एक्सप्रेस” मा टुक्का प्रकाशन भएकाे थियाे ।
  • टुक्का साहित्य समाज २०७७ फाल्गुण २७ गते ताराप्रसाद चापागाईंकाे अध्यक्षतामा गठन भएकाे थियाे ।
  • मिति २०७७ चैत्र २८ गते पहिलाे पटक टुक्का वाचन शर्मिला श्रेष्ठले गर्नु भएकाे थियाे, स्थान सिर्जना वाचन डवली, युएई।
  • पहिलाे पटक टुक्का सम्बन्धी लाईभ कार्यक्रम प्रस्ताेता विमुन्स पाैडेल काे साथमा २०७८ बैशाख १८ गते शनिबार भएकाे थियाे ।
  • टुक्का साहित्य समाजकाे आयाेजनामा प्रथम टुक्का प्रतियाेगिता “टुक्का संग म” २०७८ जेष्ठ १ गते शनिबार भएकाे थियाे ।
  • टुक्काकारद्वय जगत थापा र ललिता गिरी बिच प्रथम पटक टुक्का दाेहाेरी “प्रेमिल टुक्का दाेहाेरी-१” २०७८ जेष्ठ ५ गते भएकाे थियाे ।
  • पहिलाे टुक्का लेखन कार्यशाला गाेष्ठी २०७८ जेष्ठ १८ गते भएकाे थियाे ।
  • डाेटेली भाकाका पहिलाे टुक्का लेखन
    (२०७८ असार १८ गते तिताेपाटी डट कम मा प्रकाशित)
    उडी गाे मन ठेगान छैन चङ्गा उड्या जन
    सदाइभरि एकाेहाेरिनाे बहुरिन्या मन ।
    ✍️ शर्मिला श्रेष्ठ
    भैसेपाटी, ललितपुर
  • हिन्दी भाषाकाे पहिलाे टुक्का लेखन
    २०७८ भदाै ८ गते (२४ अगष्ट २०२१)
    जिंदगी के पन्नों मे कुछ यूं रिश्ते निकल आए
    जब जब आई कड़ी धूप, मिले प्यार के साए।
    ✍️ पदमा शर्मा आँचल
    कालाचिनी, प. बङ्गाल, भारत ।
  • बान्तावा (राई) भाषामा पहिलाे टुक्का लेखन भदौ ०९, २०७८ मा भएकाे थियाे ।
                          ।।अ़क।।
    अ़खान्नुमा  बुङ्वा  बाराकी  हेन्खामा  झाराक नान्नुसुङो
    अ़नुवाक काची मुन्नालो साङाआछे आन्टेन् खान्नुसुङो।
                 (नेपाली भावानुवाद)
                         ।।१।।
    सुन्दर  फूल  फुलेपछि   धरती  सारा  मगमगायो
    राम्रो काम गर्यो भने जस्ले पनि हाम्रो गाउँ सुहायो।
    ✍️ म्यामराज राई
    हतुवागढी-६ ,होम्ताङ्,भोजपुर, हाल:-जापान
  • टुक्का अभियन्ता समुह २०७८ भदाै १७ गते गठन भएकाे थियाे ।
  • पहिलाे अन्ताक्षरी टुक्का लेखन टुक्काकारद्वय वसन्त अनुभव र श्रीकृष्ण शर्मा बाट २०७८ भदाै २० गते
    भएकाे थियाे ।
  • प्रथम भारतिय टुक्काकार निमा छिरिङ्ग भाेटिया (५ फ्रेबुअरी २०२१) जलढक्का-५, कालेबुङ भारत हुन ।
  • प्रथम भुटानी टुक्काकार ( १९ फ्रेबुअरी २०२१ )
    अच्युत घिमिरे
    ठुलाे दाेभान, सर्पाङ्ग, भुटान।
  • टुक्का साहित्य समाजले आयाेजनामा पहिलाे सामाजिक कार्य “टुक्का वाचन तथा बृहद् रक्तदान कार्यक्रम” २०७८ असाेज २ गते शनिबार, गाैशाला काठमाडाैँ मा सन्चालन भएकाे थियाे ।

अन्तमा,
प्रयाेगवादी लघुतम काव्यिक उपविधा “टुक्का कविता” लेखनकाे ओैपचारीक शुरुवात भएकाे एक वर्ष पूरा भई दाेस्राे वर्षमा प्रवेश गरेकाे अवसरमा टुक्का साहित्य समाजका सल्लाहकार तथा पदाधिकारीहरू, टुक्का अभियन्ताहरू, देश विदेशमा रहनु भएका टुक्काकारहरू, टुक्का प्रेमीहरू, साहित्यकारहरू, पत्रकारहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा टुक्का कविताकाे उन्नयनमा सहयाेग पुर्याउनु हुने विभिन्न संघ संस्थाहरू लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै प्रथम टुक्का बार्षिकाेत्सवकाे मंगलमय शुभकामना व्यक्त गर्दछु ।

ताराप्रसाद चापागाईं
टुक्का प्रवर्तक तथा अध्यक्ष
टुक्का साहित्य समाज

२०७८ पाैष १७ गते ।