टुक्का कविता के हाे ?

✍️ ताराप्रसाद चापागाईं
टुक्का कविता गहकिला भाव बाेकेकाे समय सापेक्ष थाेरै समयमा लेख्न र पढ्न सकिने दुई हरफकाे प्रयाेगवादी लघुतम नवकाव्यिक उपविधा हाे । यसमा अक्षर सङ्ख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरी लेखिन्छ ।
विधागत प्रवर्तनका हिसाबले हेर्दा टुक्का कविता विशुद्ध नेपाली माटोमा जन्मिएर मौलिक शैलीमा हुर्किँदै गरेको नेपाली कविताको एउटा सुन्दर रूप हो । लघुतम संरचनामा निर्माण हुने भएता पनि टुक्का कविताले भावको एक झिल्कोदेखि सिङ्गो सङ्कथनलाई वहन गर्ने क्षमता राखेको हुन्छ ।
टुक्का कविता तिहारमा माला उनेझैँ, अक्षररुपी फूलहरूलाई छानेर,ताैलेर तथा गनेर उनिने उत्कृष्ट शब्द संयाेजनकाे कला हाे।
~ धुनिबेसी, हाल प्रवास

✍️ म्यामराज राई
टुक्का नेपाली साहित्यमा कविता विधाको प्रयोगवादी सहायक प्रविधा हो।बोलाउने पूरा नाम टुक्का कविता हो भने छोटकरीमा टुक्का हो। यसले दुई हरफमा पूर्णता पाउॅंछ।
पाँच अक्षरदेखि सत्ताइस अक्षर संख्यासम्ममा स्वच्छन्दको कुनै पनि एक हरफ लेख्न सकिन्छ भने छन्दमा लेख्दा टुक्काको नियममा रहेर छन्दोबद्ध लेख्न सकिन्छ।यसको पहिलो हरफमा विषय उठान र विस्तारसॅंगै दोस्रो हरफमा समर्थन र बैठान गरिन्छ। यसलाई छन्द र स्वच्छन्दमा लेख्न सकिन्छ।
~ हतुवागढी-६, होम्ताङ्, भोजपुर
हाल:-जापान

✍️ वसन्त अनुभव
टुक्का कविता एक नेपाली मौलिक प्रयोगवादी लघुतम नवकाव्यिक उपविधा हो ।यसले दुई हरफमा पूर्णता पाउॅंछ । जसमा अन्त्यानुप्रास मिलेको हुन्छ । दुवै हरफका अक्षर सङ्ख्या बराबर हुने गर्दछ ।
टुक्का कविताको पहिलो हरफले विषयको उठान, विस्तार र दोस्रो हरफले समर्थनसँगै कविता पूर्ण गर्दछ । यसको एक हरफमा ५ अक्षर देखि २७ अक्षरसम्ममा लेख्न सकिन्छ। टुक्का कवितामा केवल अजन्त अक्षर मात्र गणना गरिन्छ । हलन्त अक्षर गणना गरिॅंदैन । टुक्का कविता विभिन्न रस, छन्दहरूमा पनि लेख्न सकिन्छ ।
~ घोराही उपमहानगरपालिका १४, दाङ

✍️ अनिल खग्रास
कुनै पनि विषयवस्तुमा आधारित सिर्जनात्मक, लयात्मक तथा चमत्कारिक ढङ्गबाट प्रस्तुत गरिने मानिसलाई मन्त्रमुग्ध बनाउने सरल र सहज तरिकाले जोकोहीले बुझ्न सक्ने अर्थपूर्ण अनुप्रासयुक्त बराबर अक्षरका दुई हरफलाई टुक्का कविता भनिन्छ। टुक्का नेपाली साहित्यको प्रयाेगवादी उपविधा हाे । टुक्का कविता छन्द र स्वच्छन्द गरी दुई किसिमले लेख्न सकिन्छ। स्वछन्द टुक्कामा पनि दुई हरफमा आवश्यकता अनुसार बराबर अक्षरमा विश्राम लिँदा उत्तम हुन्छ।

  • यो स्वच्छन्दको कुनै पनि एक हरफ पाँचदेखि सत्ताइस अक्षरसम्ममा लेख्न सकिन्छ भने छन्दको हकमा टुक्काकाे नियममा रहेर छन्दोबद्ध लेख्न सकिन्छ।
  • अनुप्रास दुवै हरफमा अनिवार्य छ।
  • अनुप्रासभन्दा पछाडि कुनै शब्द दोहोरिएर आउनु हुँदैन।
  • एकाक्षरी अनुप्रास मान्य छैन।
  • पहिलो हरफले विषयवस्तु उठान गर्छ भने दोस्रोले प्रष्ट पार्दै समापन गर्छ।

~ पर्वत

✍️पुष्पाशायरा
टुक्का कविता दुई हरफमा लेख्न सकिने सारगर्भित नवकाव्यिक उपविधा हो । टुक्का पढ्दा चखिलो ट्वाक्क मिठो र प्रभावकारी हुन्छ । टुक्का औषधीको असरदार एक चक्की जस्तो हो। टुक्का कविता निश्चित अक्षर गणनाको आधारमा अन्त्यानुप्रासयुक्त लेखिन्छ । टुक्काले दिने सन्देश गहकिलो र गहिरो हुने हुँदा व्यङ्ग्यप्रधान टुक्का अझ प्रभावी मानिन्छन् । रस र अलङ्कारयुक्त विभिन्न छन्दोबद्ध पनि टुक्का कविता लेख्न सकिन्छ । आफ्ना भावलाई छोटोमिठो तरिकाले लेख्न चाहनेलाई टुक्का कविता उपयुक्त हुन्छ। काव्यमा रुचि राख्ने तथा छन्द कविता लेख्न चाहने नवाेदितका निम्ति समेत टुक्काको अभ्यास अझ प्रभावकारी हुन्छ ।
~ बिराटनगर

✍️ चिरन्जीवी ढकाल
आजका मान्छे यति व्यस्त भएकाछन् कि उनीहरूलाई खाना खाने फुर्सदसम्म नभएको अनुभूति हुन्छ। यस्तो परिस्थितिमा लामा-लामा साहित्य पढेर बस्ने उनीहरूलाई समय नै छैन र बाध्यतावश साहित्यबाटै टाढा हुँदै गइरहेकाछन्। यस्तो अवस्थामा उनीहरूलाई साहित्यकाे स्वाद दिन थोरै शब्दमा धेरै कुरा बोल्ने टुक्का कविताले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। जसले गर्दा छोटो समयमा यसरी लोकप्रिय बन्न सफल भएको हो। यसर्थ आजको व्यस्त समाजमा यो काव्यिक उपविधाले आफ्नो छुट्टै पहिचान बनाउनेमा ढुक्क हुने परिस्थिति बनेको छ।
~ नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके ।

✍️ रामकृष्ण दुवाडी
सानाे उमेरमा टुक्का भनेर उखान टुक्कालाई बुझियाे । अलि ठूलो उमेरमा दाेहाेरी गीतका सवाल जवाफमा शैली मिलेको लयबद्ध टुक्का बुझियाे । हाल आएर कविता उपविधाकाे लघुतम रुपमा सतहमा छरपस्ट हुँदै आफ्नाे पहिचानको लडाइँ लड्दै स्रष्टाको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि गर्न सफल दुई हरफकाे साहित्यिक अंग भनेर चिन्न थालियाे ।
आगामी दिनमा टुक्का कविताको भविष्य उज्यालो देखिन्छ, किनकि समयकाे पावन्दीले मानिसहरू समय दिएर लामालामा काव्य पढ्न,बुझ्न र अर्थ्याउन भ्याउॅंदैनन्।
टुक्का कविता प्रयाेगवादी काव्यिक उपविधा हाे । यसको माध्यमबाट छाेटाे समयमा पनि थुप्रै भावनाहरू पस्कन सकिन्छ। त्यसै कारण टुक्का प्रेमीहरूकाे लगाव बढ्ने क्रम दैनिक वृद्धि भएको कुरा हामी सबैले महसुस गरेका छाैं ।
~ पाेखरा ।

✍️होम प्रसाद नेउपाने
(मेरो विचारमा टुक्का कविता)
दुई हरफमा सारगर्भित भाव बोल्ने, दुवै हरफमा बराबर सग्ला अक्षर सङ्ख्या र अन्त्यानुप्रास मिलेको कविता नै टुक्का कविता हो। यो छन्दोबद्ध र स्वच्छन्द दुवैमा लेख्न सकिन्छ। यसरी लेखिने टुक्का कविताहरू आलङ्कारिक, व्यङ्ग्यात्मक र स्वतन्त्र हुन सक्छन् । एक नजरमै पढ्न सकिने, निमेष भरमै लेख्न सकिन्छ र,साहित्यमा रुचि राख्ने जोकोहीले अमूल्य गहना अर्थात महत्वपूर्ण काव्यको रुपमा ग्रहण गर्न सक्दछन्।
~ धरान, सुनसरी ।

✍️ रामशरण न्याैपाने
तुकबन्दी अर्थात् अन्त्यानुप्रास मिलेको लयात्मक शब्दहरूबाट कलात्मक ढङ्गले र गहन भाव पैदा हुने गरी रोमाञ्चित पारामा दुई हरफमा पूर्ण हुने गरी लेखिएको अभिव्यञ्जनापूर्ण वाक्यहरूकाे समूह नै टुक्का कविता हो। टुक्का कवितामा कुनै पनि विषयको प्रस्तुतीकरण घुमाउरो पाराले गहनभाव प्रकट हुनुको साथै सकभर कलात्मक शैली तथा व्यङ्ग्यात्मक भावमा लेख्नु राम्रो मानिन्छ।
~ भक्तपुर ।

✍️ बेदु न्याैपाने
टुक्का कविता नेपाली भाषाको मौलिक प्रयोगमा आएकाे लघुतम काव्यिक उपविधा हो ।कुनै पनि विषयवस्तुमा छिटो र मिठो तरिकाले लेख्न सकिन्छ। यसलाई छन्द र स्वच्छन्द दुवै शैलीबाट लेख्न सकिन्छ ।
यो उपविधामा समयकाे बचत र थाेरै शब्दहरूमा चाेटिलाे भावहरू व्यक्त गर्न सकिन्छ । यसलाई सरल तरिकाले बुझ्न र बुझाउन सकिन्छ ।
~ काठमाडाैँ ।

✍️ जमुना आचार्य
टुक्का कविता एक छोटो र मिठो सान्दर्भिकता बोकेको काव्यिक उपविधा हो । यसको एक हरफमा ५ देखि २७ अक्षरसम्म लेख्न सकिन्छ। अहिलेको व्यस्त समय सुहाउँदाे गहन विचार व्यक्त गर्ने, विकृतिको चिरफार गर्ने , समस्याको उठान गरी समाधानमा टेवा पुर्‍याउने र छोटो समयमा धेरै ज्ञान हासिल गर्न खोज्नेको लागि यो उपविधा उपयुक्त हुन सक्दछ।
~ सिन्धुपाल्चाेक ।

✍️ सहयात्री शाेभा अर्याल
टुक्का कविता नेपाली माैलिक प्रयाेगवादी लघुतम काव्यिक उपविधा हाे । जुन दुई हरफमा पूर्ण हुनुकाे साथै अन्त्यानुप्रास मिलेको हुनुपर्छ। दुवै हरफमा अक्षर संख्या बराबर पनि हुनुपर्छ। टुक्का कविताको एक हरफलाई ५ अक्षरदेखि २७ अक्षरसम्ममा लेख्न सकिन्छ ।
~ बुटवल ।

✍️ रिजाल विनोद
अक्षर सङ्ख्या बराबर राखी तुकबन्दीमा रहेर दुई हरफमा लेखिने छोटो अर्थपूर्ण कवितालाई टुक्का कविता भनिन्छ। यसलाई स्वच्छन्द र छन्द दुवै शैलीमा लेख्न सकिन्छ ।
~ बेलबारी, माेरङ्ग ।