टुक्का कविताकाे संरचनात्मक स्वरुप/ आधारभूत सिद्धान्त

(१) टुक्का नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो ।

(२) टुक्काको संरचना
(क) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
(ख) टुक्काकाे भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्ने ।

(३) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएकाे छ।

(४) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्ने ।

(५) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।

(६) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ।

(७) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दाेहाेर्याउनु उचित मानिदैन।

(८) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएकाे टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । टुक्का नेपाली माैलिक साहित्य विधा भएता पनि याे जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।

(९) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।

(१०) टुक्कामा आवश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।

(११) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्ने।

One comment

Leave a Reply